देउखुरी– दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ । उक्त कार्यक्रम लागू भएपछि किसान धेरै उत्साहित भएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन एकाइ लागू भएको छ ।

यस्ता कृषिजन्य परियोजना लागू भएपछि दाङका कृषक धेरै खुसी भएका छन् । राप्ती गाउँपालिका–२ पाखापानीकी सुनिता चौधरीले मकै सुपरजोन कार्यक्रमअन्तर्गत मकैखेती सुरु गर्नु भएको छ । एउटा याममा मात्र मकै खेती गर्ने गरेकामा अहिले उहाँले तीन यामसम्म खेती गर्दै आउनुभएको छ ।
‘एउटा याममा ८० हजार बराबरको मकै बिक्री हुन्छ,’ उहाँले भन्नुभयो, ‘अनुदानमा कृषियन्त्र, उन्नत बीउ पाएपछि खेती गर्न सहयोग पुुगेको छ ।’ बाह्रै महिना मकै खेती हुने गरेको छ । ‘परम्परागतभन्दा उन्नत तरिकाले रोपिएको मकैको उत्पादन बढी हुन्छ,’ सुनिता चौधरीले भन्नुभयो ।

देउखुरी क्षेत्रमा हिउँदे, बसन्ते र वर्षे गरी तीन याममा मकै खेती हुने गर्छ । परम्परागत खेतीभन्दा तोरी जोन कार्यक्रममार्फत उन्नत जातको तोरी लगाउँदा फाइदा भएको तुलसीपुर–९ की रीता खत्रीले बताउनुभयो । ‘तोरीमा लाग्ने रोगबारे कृषि प्राविधिकले सल्लाह दिने भएकाले उत्पादनमा वृद्धि भएको हो,’ उहाँले भन्नुभयो । रीता खत्रीको अनुसार गत वर्ष दुई लाखको तोरी बिक्री गर्नुभएको हो ।
तुलसीपुर–१९ का तिलक खत्रीले व्यावसायिक मौरीपालन गर्नुभएको छ । बीस घारबाट थालेका उहाँसँग अहिले ८० घार माहुरी छन् । तोरी फुल्ने याममा माहुरीको चरन प्रसस्त हुने गर्छ । मौरी सुपरजोन कार्यक्रमले कृषकलाई व्यावसायिक बनाएको छ । दाङलाई तोरीमा आत्मनिर्भर बनाउन तोरी सुपरजोन कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक महेश रेग्मीले जानकारी दिनुभयो ।

किसानलाई विस्तारै समेट्दै लैजाने र तोरी उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । परियोजना एकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आबद्ध गर्ने गरेको छ । आबद्ध भएका व्यवसायीको क्षमता विकास, सीप विकास र घार तथा प्रविधिमा सहयोग गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि क्षेत्रको उत्पादन र यस कार्यक्रमले खेत जोत्ने ट्र्याक्टर, बीउ छर्ने, गोडमेल गर्ने, मकै छोडाउने मेसिनजस्ता कृषि यन्त्र खरिद गर्दा किसानले ५० प्रतिशत लागत सहभागिता जुटाउनुपर्छ ।

उत्पादकत्व वृद्धि गर्ने आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न सञ्चालन गरिएको हो । कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर बनाउनु यो कार्यक्रमको लक्ष्य हो । दाङमा करिब साढे ३ सय हेक्टरमा उन्नत जातको तोरी खेती गरिएको छ । तोरी उत्पादनले आयआर्जनमा वृद्धि भएको छ । यो कार्यक्रम ०७३।७४ देखि दाङका सबै पालिकामा सञ्चालनमा आएको छ । ०७७।७८ को अन्त्यसम्म मकै सुपरजोनमा दुई हजार ९ सय हेक्टर, तोरी जोनमा ७ सय ५० हेक्टर र मौरी जोनमा १३ हजार ४ सय घारमा विस्तार भएको छ । मकै सुपर जोनमा १ सय १, तोरी जोनमा ४३ तथा मौरी जोनमा १ सय ४२ सहकारी समूह, निजी उद्यमी र व्यवसायी आबद्ध छन् ।