काठमाडौं – लगातार तेस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा वृद्धि हुँदा आज छ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता करिब १ सय ६० अङ्कले खस्केको सेयर बजार आइतबार एक अङ्कले सामान्य गिरावट भएको थियो । साताको दोस्रो दिन सोमबारबाट बढ्न सुरु भएको नेप्से आज लगातार तेस्रो दिन पनि बृद्धि भएको छ ।

सोमबार २६ अङ्क ले बढेको नेप्से हिजो मङ्गलबार पनि झन्डै ७० अङ्कमा बृद्धि भएको थियो । आज पनि नेप्से १६ दशमलब ९५ अङ्कले बढेर २८०१ दशमलब ५२ अङ्कमा पुगेर बन्द भएको छ । सुरुवातबाट नै वृद्धि देखिएको नेप्से आज २८२५ दशमलब ९८ अङ्कसम्म पुगे पनि अन्तिम समयमा केही गिरावट हुँदा २८०० अङ्क नजिक बन्द भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढ्दै गएको छ । हिजो साढे पाँच अर्ब रुपैयाँको कारोबार भएको बजारमा आज करिब ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा एक करोड सात लाख ६५ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड १८ लाख पाँच हजारको कारोबार भएको हो ।

नेप्सेमा वृद्धि भए पनि विकास बैंक, उत्पादनमूलक निर्जीवन र जीवन बिमा, लगानी र म्युचुअल फन्ड उपसूचकमा भने गिरावट भएको छ । आज उत्पादनमूलक उपसूचकमा सर्वाधिक १ दशमलब ५२ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १ दशमलब ३५ प्रतिशतले घटेको छ । अन्य उपसूचकमा भने सर्वाधिक ५ दशमलब २९ प्रतिशतको वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २ दशमलब २४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १ दशमलब ५३ प्रतिशत, वित्त कम्पनी उपसूचक १ दशमलब २२ प्रतिशत तथा बैंकिङ उपसूचक ० दशमलब २६ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै पुँजीकरण भएको नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतमाथि र धेरै पुँजीकरण भएको मध्येको एक अपर तामाकोसीको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा नेप्से बढ्न सहयोग पुगेको देखिन्छ ।

आज नेप्सेमा सबैभन्दा धेरै रकमको सेयर कारोबार पनि अपर तामाकोसी हाइड्रोपावरको नै भएको छ । कम्पनीको ५८ करोड ६८ लाखको सेयर किनबेच हुँदा महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख र एसियन लाइफको ३३ करोड ६६ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा १ सय ८७ कम्पनीको सेयर कारोबार भएकोमा ९४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज कारोबार भएको मध्ये पञ्चकन्या माइ हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर, मानुषी लघुवित्त, तेह्रथुम पावर र नेपाल बंगलादेश बैंकको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

सेयर मूल्य घट्नेमा भने बोर्टलर्स नेपाल तराई अगाडि देखिएको छ । कम्पनीको सेयर मूल्य ७ दशमलब ४७ प्रतिशतले गिरावट हुँदा महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७ दशमलब ४१ र गुँरास लाइफको सेयर मूल्य ४ दशमलब १३ प्रतिशतले घटेको छ ।