फाइल तस्वीर ।
विराटनगर – प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेकोले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभामा कायम रहेका ९२ सांसदमध्ये सभामुख बाहेक ७९ जनाको मात्रै रहेको उपस्थिति थियो । मुख्यमन्त्री राईले आफुलाई प्रदेशसभाको विश्वास मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा बहुमत ५० मत र विपक्षमा जम्मा २९ मत परेको थियो ।

मुख्यमन्त्री राईले पाउनुभएको मत प्रदेशसभामा तत्काल कायम रहनुभएका सदस्यको बहुमत भएकाले उहाँले विश्वासको मत पाउनुभएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभएको छ । आजको मतदानमा ७९ जना सांसद उपस्थित हुनुभएको थियो । मुख्यमन्त्री राईलाई नेपाली काङग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले विश्वासको मत दिनुभएको थियो । प्रमुख विपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले भने विश्वासको मतको विपक्षमा मतदान गर्नुभएको थियो ।