काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी मङ्सिर १० गतेदेखि चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको क्रममामा उद्घाटनसत्रमा ५ लाख कार्यकर्ता उतार्ने बताएको छ । चितवनको सौराहामा हुन लागेको एमालेको दशौं महाधिवेशनका लागि सातवटै प्रदेश कमिटीलाई महाधिवेशनस्थलमा सङ्ख्या नै तोकेर कार्यकर्ता ल्याउन निर्देशन दिएको छ । सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै कार्यकता उतार्न बागमती प्रदेशलाई केन्द्रले निर्देशन दिएको छ ।


एमाले बागमती प्रदेश कमिटीले मात्रै ५ लाखमध्ये ठिक आधा अर्थात् अढाइ लाख कार्यकर्ता चितवन लैजाने जिम्मा पाएको छ । एमालेको दशौं महाधिवेशन जनपरिचालन कमिटी बागमतीका अध्यक्ष आनन्द पोखरेलले यस प्रदेशबाट कसरी जनपरिचालन गर्ने भन्ने विषयमा छलफलका लागि आज बैठक बोलाएको छ । उक्त बैठकलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेलले विशेष निर्देशन दिने बताइएको छ । बागमतीले महाधिवेशको उद्घाटनसत्रमा अढाइ लाख कार्यकर्ता उतार्न जिल्ला, सम्पर्क कमिटी र जनसंगठनहरुलाई परिचालन गर्न लगाको छ ।


जनपरिचालन कमिटी बागमतीका अध्यक्ष पोखरेलले बताए अनुसार नवौं महाधिवेशनको तुलनामा आसन्न दशौं महाधिवेशनको सङ्घारमा पुग्दा बागमती प्रदेशमा १५० प्रतिशत एमालेका संगठित सदस्य बृद्धि भएको छ । नेता पोखरेलका अनुसार बागमती प्रदेशमा मात्रै १ लाख ७४ हजारले सदस्यता नवीकरण गरेका छन् । यो सङ्ख्या हेर्दा गएको महाधिवेशनको तुलनामा १५० प्रतिशत रहेको छ । प्रत्येक एक पार्टी सदस्य बराबर एक जना मानिस चितवन लैजाने योजना भएकाले २ लाख ५० हजार मानिस जुटाउन वागमती प्रदेशलाई कुनै समस्या नभएको अध्यक्ष पोखरेलको भनाइ छ ।

जनपरिचालन कमिटीका अध्यक्ष पोखरेलले दावी गरे अनुसार काठमाडौ उपत्यकाका तीन जिल्लाबाट ५० हजार, चितवनबाट ७५ हजार, मकवानपुरबाट ३० हजार कार्यकर्ता उपस्थित हुने छन् । त्यसैगरी बागमती सम्पर्क कमिटीबाट २५ हजार, धादिङ काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट १५÷१५ हजार, नुवाकोट र सिन्धुली जिल्लाबाट ५ हजार, दोलखा र रामेछापबाट २ हजार, जनवर्गीय संगठनहरुबाट २५ हजार र रसुवाबाट ५ सय जना कार्यकर्ता चितवन जाने छन् । त्यस्तै यो प्रदेशका पहाडी र हिमाली जिल्लाबाट प्रत्येक वडाबाट एक बसका दरले कार्यकर्ता चितवन लैजाने गरी कार्ययोजना बनाइएको नेता पोखरेलले बताएका छन् ।