साहित्यकार विजय बजिमय, फाइल तस्वीर ।
काठमाडौं – नेपाली साहित्यफाँटका एक धरोहर साहित्यकार अस्ताएका छन् । कास्कीको पोखरास्थित मोहरिया टोलमा वि.सं. २०१४ साल चैत २३ गते जन्मेका साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । नेपाली साहित्यका क्षेत्रमा आफुलाई अम्बल साहित्यकारका रुपमा चिनाएका बजिमयले कथा, कविता, गीत, गजल साथै मुक्तकहरुमार्फत् नेपाली साहित्यलाई विशेष योगदान दिएका स्रष्टा हुन् ।

शारीरिक रूपमा जन्मजात असक्त भए पनि साहित्यकार बजिमयले आफुलाई साहित्यका क्षेत्रबाट शबल सावित गरेका छन् । वि.सं. २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट नेपाली साहित्यको लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘अन्त्वतोगत्वा’ (कथा सङ्ग्रह) ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह) प्रकाशित थिए भने आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।

सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसकेका स्रष्टा बजिमय राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्रीबाट सम्मानित स्रष्टा हुन् भने उनले विभिन्न साहित्यिक पत्रिकाहरुको सम्पादन समेत गरेका थिए । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उनको जन्मथलो पोखरा लगिएको छ । नेपाली साहित्यका धरोहर बजिमयप्रति श्रद्धासुमन ।