प्रतीकात्मक तस्वीर
वीरगञ्ज – बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजेको समयमा बाराको कोल्हवी नगरपालिका –१ मा ना४२प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी कोल्हवी नगरपालिकाकै २० वर्षीय सागर चौधरी र १९ वर्षीय मदन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दुर्घटनामा परी २० वर्षीय अशोक चौधरी घाइते भएका छन् । घाइते चौधरीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।कोल्हवीबाट श्रीपुरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई सडकछेउमा रहेको स्वास्थ्यचौकीको भवनमा ठोक्किएको जिला प्रहरी कार्यालय बाराले जनाएको छ ।