प्रतीकात्मक तस्वीर
ललितपुर – नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो ।

देवी प्याखँमा आज उदाहरण लीलाअन्तर्गत आउने एक नृत्यको अङ्श देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘यसमा भैरव तथा कुमारी र महालक्ष्मीको नृत्य मञ्चन गरिनेछ ।’ सो नाटकको दोस्रो चरणमा ‘द्योला’ अर्थात् मन्दिरको रेखदेखमा बस्ने तथा ‘कवं’ अर्थात कङ्काल र ‘ख्याक’ वा भूतको कथामा आधारित नाच प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो । आठ दिन प्रदर्शन गरिने यस वर्षका नाचमा लगभग रु १३ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो , ‘हरेक दिन कलाकार अनि स्वयंसेवक तथा वाद्यवादक र व्यवस्थापक गरी दैनिक ५० भन्दा बढी जनशक्ति प्रयोग भइरहेका छन्।’ सो नाट्य महोत्सव प्रदर्शन गर्दा जोखिं, जो नगरा, धाः, दमौखी, मृदंग, पोंगा, झयाली र ता बाजा बजाइने पाटन निवासी राजेश ताम्राकारले बताउनुभयो ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाउनुभएको थियो । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । २७ दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैमा विशेषता बोकेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर मन्दिर छेउमा सो नृत्य देखाइन्छ । —रासस