फाइल तस्वीर ।

गोरखा– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ ।

गोरखास्थित शहीद लखन गाउँपालिकाको घैरुङमा आज मङ्गलबार आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष डा. भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने भन्दै ‘संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन,’ उनले भने, ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन’ भन्नुभएको छ ।


नेता डा. भट्टराईले असल व्यक्ति नआएसम्म देशमा परिवर्तनको कुनै सम्भव नरहेको बताउनु भएको छ । उहाँले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको दावी गर्नु भएको छ ।

उहाँले ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन, संविधान आधा गिलास खाली र आधा गिलास भरिएकोजस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ’ भन्नुभएको छ ।

अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा. भट्टराईको भनाइ छ । ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरेजस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन,’ डा. भट्टराईले, ‘जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपथ्र्याे’ भन्नुभयो ।

अर्को प्रसङ्गमा पूर्वमाओवादी नेता समेत रहनुभएका डा. भट्टराईले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभइ पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्नेमा जोड दिनु भयो । उहाँले ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔँ, माओवादीको हिजोको विचारले मात्र पुग्दैन,’ उनले भने, ‘सबै माओवादी एकैठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो’ भन्नुभएको छ । रासस