काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो ।


जसअनुसार प्रदेश एकमा परशुराम खापुङ, सुदूरपश्चिम प्रदेशमा देवराज जोशी र कर्णाली प्रदेश प्रमुखमा तिलक परियारलाई प्रदेश प्रमुख नाम सिफारिस गरिएको छ । सिफारिस गरिएका प्रदेश प्रमुखहरुमा खापुङ र परियार नेकपा माओवादी केन्द्रका नेता हुन् भने जोशी नेपाली काङ्ग्रेसका नेता हुन् ।


सिफारिस गरिएका तीन जना मध्ये तिलक परियार यस अघि प्रदेश नम्बर दुईको प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन् । यी तिनै जना सङ्घीय संसद्मा सांसद् भैसकेका व्यक्ति हुन् ।


प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपति कार्यालयबाट हुने व्यवस्था भएअनुसार सिफारिस गरिएका व्यक्तिहरुको नाम समेत राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ ।