फाइल तस्वीर ।

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को नेता पाण्डे कार्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

पाँच दलीय गठबन्धनका साझा उम्मेद्वारका रुपमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले प्रदेशसभामा कामय रहेको १०९ मत मध्ये ५९ मत पाएर विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका ४३ जना प्रदेश सांसदले मतदान गरेका थिए । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री नियुक्त भएको तीन दिनपछि अर्थात् कात्तिक १४ गते विश्वासको मतको प्रस्ताव दर्ता गराउनु भएको थियो ।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीमा समर्थन गरेका थिए । गठबन्धनमा रहेका माओवादी केन्द्रका २३ जना, काङ्ग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसदले पाण्डेको पक्षमा मतदान गरेका थिए । विश्वासको मतदानमा नेपाल मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीका दुई सांसद भने मतदानमा सहभागी भएनन् ।