काठमाडौं– लामो समयसम्म निरन्तर बढेको पुँजी बजार परिसूचक–नेप्से तिहार सकिएर सुरु भएको पहिलो दिनमै घटेको छ । आज नेप्से १९.२ अङ्कले घटेको छ । दिनको सुरुवातमा केही अङ्कले बढेको नेप्से त्यसपछि ओरालो लाग्न सुरु भएर २ हजार ८ सय २९ दशमलब ६४ विन्दुमा रोकिएको हो ।

आज ७२ लाख ७ हजार ३ सय ९६ सेयर कित्ता खरिद विक्री हुँदा चार अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय ३ रुपैयाँको कारोबार भएको छ । साहस उर्जा र आईसिएफसी फाइनान्सको सेयर मुल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयर मुल्य समान ९.९९ प्रतिशतले बढेको छ भने महालक्ष्मी विकाश बैंकको पनि शेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ ।

सोमबार फाइनान्स, मुचुअल फन्ड र इन्भेस्टमेन्टबाहेक सबै उपसमूहको सूचक घटेको छ । बैंकिङ, विकाश बैंक र नन लाइफ इन्सुरेन्सको सूचक एक प्रतिशतभन्दा बढीले घटेको छ । महालक्ष्मी विकाश बैंक, नेसनल हाइड्रो पावर, युनाइटेड मोदी हाइड्रोपावरका सेयर कित्ता सबैभन्दा बढी सङ्ख्यामा कारोबार भएका छन् । नेप्सेमा आज भएका कारोबारको सङ्ख्या ४९ हजार ५ सय ३० रहेको छ ।