प्रतीकात्मक तस्वीर
काभ्रेपलाञ्चोक – बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ । बाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएको कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यो वर्ष पनि रोकिएको हो । संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले दुई वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । प्रदेश सरकारले २०७५÷०७६ मा रु दुई लाख तथा अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख पठाएको कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारबाट दुई वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ ।’

पोखरेलका अनुसार कृषि उत्पादनमा समेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान÷संरक्षण अत्यावश्यक देखिन्छ । अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा निकै उत्साहित पनि देखिएका थिए । जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताउनुभयो । ‘हामीले सालकबारे पाँचवर्षे योजना बनाउने प्रक्रियामा थियौँ, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन’, उहाँले भन्नुभयो । आउने वर्षका लागि योजना बनाएर मन्त्रालयमा पेश गर्नेबारे छलफल भएको पनि उहाँले बताउनुभयो । गत असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा सालक भेटिएको थियो । राति ९ बजे स्थानीय एक घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको थियो ।

पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ रहेको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’ नै रहेका छन् । सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो । जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यक देखिएको छ ।

‘यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पु¥याउँछ, मानिसलाई भने आक्रमण गर्दैन’, उहाँका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका कीरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । बल्थलीस्थित समुदायमा आधारित चोरी, सिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईले स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा जमिनमा ५ सय ४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३ सय २३ र नयाँ २ सय १९ प्वाल रहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामीले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएका छौँ ।’

उहाँका अनुसार एकाइले गत वर्ष स्थानीय २ सय ५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको थियो भने एकाइकै पहलमा काठमाडाँै विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए । अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ। सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउने पोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।

पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, ‘नेपालमा दुर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ ।’

विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्। त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ। एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ । सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । —रासस