छत्तीसगढ– भारतको छत्तीसगढस्थित सुकमा हिजो राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि गोलि चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सीले जनाए अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।
ती जवानले एके–४७ बाट फायरिङ चलाएका थिए । उक्त घटनामा रिजर्भ पुलिस फोर्सका चार जना जवानको मृत्यु भएको छ भने अन्य ३ जना समते घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सीले बताएको छ । उक्त घटनामा गम्भीर घाइते भएका जवानहरूलाई हेलिकप्टरद्वारा रायपुर लगिएको छ । घटनापछि केन्द्रीय रिजर्भ पुलिस फोर्सका आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गोली चलाए भन्ने खुल्न सकेको छैन ।
यो क्याम्पमा ८५ औं बटालियन जवानको पनि क्याम्प रहेको छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो । अन्य जवान दौडेर घटनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो । घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलङ्गानास्थित भद्राचलम अस्पताल लगिएको छ । उपचारका क्रममा थप दुई जनाको मृत्यु भयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई रायपुरको एक अस्पतालमा रिफर गरिएको छ । गोली चलाउने जवानले के कति कारणले साथीहरुमाथि गोली चलाएभन्ने कुरा यकिन हुन सकेको छैन । एक दिनअघि मात्रै हत्याका आरोपित जवानको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको समाचारमा जनाइएको छ ।