फाइल तस्वीर ।
जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा छठपर्व मनाउनका लागि पूर्वाधार तयार गर्ने काम भएको छ । तिहार सकिए लगतै तराईमा छठ पूजाको लागि पूजासामग्री र अन्य आवश्यकीय सामानहरु किनमेल गर्नेको भिड लाग्न थालेको छ । अहिले जनकपुरधामलगायत तराई क्षेत्रका मुख्य बजारहरुमा मानिसहरुको विशेष चहलपहल बढ्न थालेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।

अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ । स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन सुरु गरेका छन् ।

जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन् ।

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ। विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ। सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।