वासिङ्टन– अमेरिकाले कोरोना भाइरसको महामारीका कारण लामोसमयदेखि विदेशी नागरिकहरुका लागि आफ्नो देशमा यात्रा गर्न लगाएको प्रतिबन्ध आजबाट फुकुवा गर्ने भएको छ । अमेरिकाले २० महिनापछि उक्त प्रतिबन्ध फुकुवा गर्न लागेको हो ।

कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी नागरिकहरुलाई अमेरिका प्रवेश खुला गर्न लागिएको हो । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अमेरिकी यात्रा प्रतिबन्धलाई वर्तमान राष्ट्रपति वाइडेनले सत्ता सम्हालेको ८ महिनापछि यो प्रतिबन्ध हटाउन लागिएको हो ।

नयाँ नियमअनुसार बेलायत तथा युरोपियन युनियनस ३० भन्दा बढी देशका नागरिकहरु जसले खोपको पूर्ण मात्रा लगाएका छन् उनीहरुले अमेरिका प्रवेश गर्न पाउने भएका छन् । खोपको पूर्ण मात्रा लगाए पनि परीक्षण तथा कन्ट्याक ट्रेसिङमा भने रहनु पर्नेछ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सन् २०२० को सुरुमा अमेरिकाले चीनबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो । ट्रम्प प्रशासनले त्यसपछि सो प्रतिबन्ध अरु देशमा पनि लागू गएको थियो । सो नियमले अमेरिकी नागरिकबाहेक अमेरिका यात्राका निम्ति अधिकांश रुपमा प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्ध फुकुवासँगै नयाँ नियमअनुसार विदेशी यात्रुले उड्नुपूर्व खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । कोरोना भाइरसको सङ्क्रमण नरहेको परीक्षण यात्रा गर्नुभन्दा तीन दिनभित्र गरिएको हुनु पर्नेछ र आफ्नो सम्पर्क जानकारीहरु पनि उपलब्ध गराउनु पर्नेछ । तर अमेरिका यात्रा गर्नेहरुले क्वारेन्टिनमा भने बस्नु नपर्ने व्यवस्था राष्ट्रपछि वाइडेनको प्रशासनले गरेकोछ ।