फाइल तस्वीर ।

हेटौंडा– बागमती प्रदेश सरकारले आज विश्वासको मत लिने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।
कात्तिक ११ गते बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा चयन गरिएको थियो । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले आज सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने छ ।

मुख्यमन्त्री पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जसपाको समर्थन छ । मुख्यमन्त्री पाण्डेको पक्षमा ४९ मत रहेकोले उहाँले आज विश्वासको मत प्राप्त गर्नुहुने पक्का छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ । विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रदेशसभामा आवद्ध दलका सदस्यहरुले क्रमशः आफ्ना धारणा राख्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिएपछि मत विभाजन हुनेछ ।