काठमाडौं – आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सतप्रतिशत जित निकाल्दै समूहको विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी उक्त प्रतियोगितामा पाकिस्तानले आइतबार राति भएको समूह दुईको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि सेमिफाइनलको यात्रा पक्का गरेको हो । यो जितसँगै पाकिस्तानले १० अङ्क जोडेको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रनमा समेटिन पुग्दा पाकिस्तान सेमिलाइनमा पुग्न सफल भयो । पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एक÷एक विकेट लिएका थिए । यता स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरेका गरेका थिए । स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एक÷एक विकेट लिएका थिए । यो समूहबाट पाकिस्तान र न्युजिल्याण्ड सेमिफाइनल पुगिसकेको छ । न्युजिल्याण्ड ८ अङ्क जोडेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

भारत भने एक खेल बाँकी छँदै समूह चरणबाटै बाहिरिन पुगेको छ । दुई खेल जितेको भारतको ४ अङ्कमात्र छ । यो समूहमा अफगानिस्तानको पनि ४ अङ्क नै रहेको छ । नामिबियाको दुई अङ्कमा सिमित रहँदा स्कटल्याण्ड अङ्कविहीन हुँदै बन्न पुगेको छ । यी सबै टिम समूहचरणबाटै बाहिरिसकेका छन् ।

सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्यु जिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने पाकिस्तानले २५ गते अष्ट्रेलियासँग खेल्ने छ । दुई खेलका विजेताबीच यही कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ । आज भारत र नामिबियाको अन्तिम खेल हुँदैछ ।