मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेको विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो जनाएको हो । नवनियुक्त मुख्यमन्त्री राईले प्रदेश र प्रदेशवासीको लागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले आजै मुख्यमन्त्री राईलाई सपथ खुवाउने तयारी गर्नुृभएको छ । सपथ ग्रहणमा मुख्यमन्त्री राईसँगै अन्य ३ मन्त्री सहभागी हुने बताइएको छ ।

प्रदेश १ मा एकीकृत समाजवादीका राईलाई नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायतलेले मुख्यमन्त्रीमा समर्थन गरेका थिए । सोहीअनुसार मंगलबार मुख्यमन्त्री राईसँगै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट एकजना मन्त्रीले सपथ खाने तयारी गरिएको छ । काङ्ग्रेसबाट प्रमुख सचेतक केदार कार्की र हिमाल जोशीले मन्त्रीको सपथ खाँदैहुनुहुन्छ ।

एकीकृत समाजवादीका एक प्रदेश सांसदका अनुसार कार्कीलाई आन्तरिक मामिला तथा कानुन र जोशीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्नेछन् । माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसद तथा मन्त्रालयको टुङ्गो लाग्न बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ । एमालेका भीम आचार्यले सोमबार प्रदेशसभामा बहुमत पु¥याउन नसकेपछि राजीनामा दिएका थिए । त्यसलगत्तै पाँचदलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । गठबन्धनले सोमबार नै ४९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो ।