साङ्केतिक तस्बिर
काठमाडौं – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइराखेका अवस्थामा राजस्व छली गरेर ल्याएको पिबिओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५ सय २ बाट ८ सय किलोग्राम पिबिओजी औषधिसमेत बरामद गरेको उहाँले बताउनुभयो । चिनियाँ नागरिकबाट बरामद भएको पिबिओजी औषधि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । —रासस