काठमाडौं — आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १७ अङ्कले गिरावट भएको छ । गत साताभरमा २ सय अङ्कभन्दा बढीले उकालो लागेको नेप्से परिसूचक आज घटेको हो । नेपाल राष्ट्र बैंकले कात्तिक ३ गते निक्षेपको ब्याजदर नबढाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएपछि बजार उकालो लाग्न थालेको थियो । लगानीकर्ताले त्यसयता कमाएको नाफा बुक गरेपछि आज नेप्से परिसूचक घटेको हो ।

परिसूचक घटे पनि ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भइ १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन बैंक, होटल र टुरिजम तथा लगानी समूहमा भने सुधार आएको छ । ती बाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहमा १ सय २० अङ्कले गिरावट भएको छ । यस्तै, जीवन बीमा समूहमा १ सय १५ अङ्कको गिरावट आउँदा लघुवित्त समूहमा ९१ अङ्कको गिरावट आएको छ ।

नेप्से घटेपनि आज मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५९ रुपैयाँ कमाएका हुन् । यस्तै, साहस उर्जाका लगानीकर्ताले आज प्रतिकित्ता ४४ रुपैयाँ कमाएका छन् ।