बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडवाडका अवसर पारेर आज आइतबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताउनुभएको हो ।

‘शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ ।, ४० औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ’, शिक्षामन्त्री पौडेलले भन्नुभयो– ‘अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।’ मन्त्री पौडेलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको पनि बताउनुभयो ।

उहाँले आफ्नो कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको जानकारी दिनुभएको छ । मन्त्री पौडेलले भन्नुभयो– ‘एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या, यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ ।’ मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताउनुभएको छ । उहाँले अन्तरमन्त्रालयहरुसँग समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।