काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । राष्ट्र बैंकले महामारीबाट प्रभावित उद्योग/व्यवसायलाई ५ करोड रुपैयाँसम्म पुनरकर्जा उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन गर्न आह्वान गरेको छ ।

बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आह्वान गर्न भनेको हो । व्यवसायीले पुनरकर्जाका लागि आजदेखि आगामी मङ्सिर १९ गतेसम्म आवेदन दिन पाउने भएका छन् । बैंकका प्रवक्ता देवकुमार ढकालले पुनरकर्जा कार्यविधिअनुसार व्यवसायीले ५ करोड रुपैयाँसम्म कर्जा पाउने बताउनुभयो ।

पुनरकर्जाका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसूची १ बमोजिम ढाँचाको आवेदन चाहिने बताइएको छ । यस्तै, इजाजतप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय पनि पुनरकर्जाका लागि आवश्यक पर्नेछ । यसैगरी, पुनरकर्जा लिन चाहने ग्राहकको सम्पूर्ण विवरण समेत आवश्यक पर्नेछ ।