फाइल तस्वीर

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले भोलि बागलुङको ढोरपाटनको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी भोलि दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो ।

’अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ’, प्रमुख जिल्ला अधिकारी कार्कीले भन्नुभयो । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उहाँको भनाइ छ । राष्ट्रपति आउने भएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष रहेको क्षेत्र हो ।

सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३ सय २५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ । पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । रासस