काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गर्नुभएको छ । आज बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्ला र निर्वाचन क्षेत्रमा जाने भनेर गरेको प्रचारमा सत्यता नभएको बताउनुभएको हो ।

उहाँले चितवनमा अब महाभारतको लडाइँ हुने भन्दै जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चितवनमा फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ । तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरङ्कुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ ।’

अध्यक्ष प्रचण्डले आफूले आगामी निर्वाचन चितवनबाटै लड्ने प्रस्ट पार्नुभएको छ । एमालेले बुटवलमा गर्न लागेको महाधिवेशन चितवनमा सारेको विषयलाई चुनवासँग जोड्दै प्रचण्डले आफूलाई हराउने उद्देश्यले एमालेले महाधिवेशनस्थल सारेता पनि त्यसबाट कुनै फरक नपर्ने उल्लेख गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको उहाँको आरोप छ ।