ताइवान – चीन र ताइवानबीच विवाद उल्झिरहेको बेला ताइवानकी राष्ट्रपति साइ इङ–वेनले चिनियाँ आक्रमणविरुद्ध अमेरिकाले ताइवानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनबाट दिन प्रतिदिन खतरा बढिरहेको भन्दै राष्ट्रपति इङ–वेनले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गत साता टाउनहलमा बोल्दै यदि चीनले ताइवानमाथि हमला गरे अमेरिकाले ताइवानको रक्षा गर्न सक्ने बताउनु भएको थियो । चीन र ताइवानको विषयमा अमेरिकाले अस्पष्ट नीति अवलम्बन गर्दै आएको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघमा ताइवानको अर्थपूर्ण सहभागिताको वकालत गरेको छ । ताइवान संयुक्त राष्ट्रसंघमा जोडिन उसलाई कुनै अधिकार नभएको भन्दै चीनले त्यसलाई ठाडै अस्वीकार गर्दै गरेको छ ।


चीन र ताइवानबीच लामो समयदेखि तनाव रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो अधिनस्त ठान्दै आएको छ । तर अमेरिकाले ताइवानलाई स्वतन्त्र राष्ट्रको व्यवहार गर्दै आएको छ । राष्ट्रपति साइ इङ–वेनले ताइवानमा अमेरिकी सेनाको उपस्थिति रहेको पनि पुष्टि गर्नुभएको छ । अन्तराष्ट्रिय समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा राष्ट्रपति इङ–वेनले उक्त कुरा सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रपति साइ इङ–वेनले सो अन्तर्वार्ताका क्रममा चीनदेखि दुई सय किलोमिटरभन्दा पनि कम दूरीमा रहेको ताइवान प्रजातन्त्रको आलोक भएको बताउँदै प्रजातान्त्रिक मूल्यप्रति विश्वव्यापी विश्वास कायम राखिराख्न त्यसको रक्षा गरिराख्नु पर्ने बताउनु भएको छ । राष्ट्रपति साइ इङ–वेनले ‘यो द्वीप दुई करोड ३० लाख जनताको हो, जो हर दिन आफू र आफ्नो प्रजातन्त्र जोगाउन कडा प्रयास गरिरहेका छौं र हाम्रा जनता जुन स्वतन्त्रताको लागि उनीहरू योग्य छन्, त्यसको सुनिश्चित गरिरहेका छन्,’ भन्नुभएको छ ।

अधिनायकवादी शासनले विस्तारवादी तरिका अपनाए त्यसविरुद्ध प्रजातान्त्रिक मुलुकहरू एक ठाउँमा उभिनुपर्ने राष्ट्रपति इङ–वेनको भनाइ रहेको छ । चीन र ताइवानबीचको सम्बन्ध यतिबेला चार दशकयताकै तिक्ततापूर्ण बनेको छ । यो तिक्ततापूर्ण सम्बन्धलाई लिएर अमेरिका, बेलायत र अष्ट्रेलियाले दुई महिना अघि चीनलाई घेर्ने रणनीति अवलम्बन गरेका थिए । ताइवानको विषयमा अमेरिका र चीनबीच पनि तिक्तता बढिरहेको छ ।