काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छ । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।

धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति गठन हुन भएको छ । सोहीअनुसार राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको नेतृत्वमा अर्थसचिव मुधुकुमार मरासिनी र विज्ञ सदस्यमा प्रा. डा. नारायणप्रसाद पौडेल सदस्य रहेको सिफारिस समिति बनेको छ ।

सो समितिले तीनजनाको नाम सिफारिस गर्ने र त्यसमध्ये एकजनालाई मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ । गत २०७६ पुसमा भीष्मराज ढुङ्गाना चारवर्षे कार्यकालका लागि अध्यक्ष नियुक्त हुनुभएको थियो । अब नियुक्त हुने अध्यक्षले उक्त बाँकी कार्यकाल पूरा गर्ने हुनुभएको छ । बोर्डको अध्यक्ष हुन कम्तीमा स्नातकोत्तर उपाधि हाँसिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका हुनुपर्ने व्यवस्था छ ।

बोर्डको नयाँ अध्यक्ष बन्नको लागि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, चार्टर्ड एकाउन्टेन सङ्घ आइक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्य, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलगायत नाम चर्चामा छ । बर्खास्तमा पर्नुभएका ढुङ्गाना भने पुनर्बहालीको लागि सर्वोच्च अदालत पुग्नुभएको छ ।