प्रतीकात्मक तस्वीर
काठमाडौं — प्रहरीले लागुऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेका अनुसार विशेष इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जको संयुक्त टोलीले चन्द्रपुर–४ स्थित चोकमा चेकजाँचको क्रममा रोज मोहम्मदको झोला भित्र लुकाई ल्याएको १० प्याकेट ३ हजार ट्याब्लेट लागुऔषध फेला परेको थियो ।

रोज मोहम्मदसँग सोधपुछ गर्दा देवेन्द्र दासले दिएर पठाएको बताएपछि दाशलाई पनि चन्द्रनिगाहपुरबाटै पक्राउ गरीएको डिएसपी लामिछानेले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी हिजो जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।