पत्रपत्रिकाबाट

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लाई प्राथमिकतामा राखे ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ‘दमक भ्यू टावर’ निर्माण सुरु ग¥यो । सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरका अनुसार २०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार २०७८ पुस २७ मा उक्त टावर निर्माणको समयावधि सकिँदै छ ।

२०७८ कात्तिक पहिलो सातासम्म ४७ प्रतिशत काम मात्र सम्पन्न भएको निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए । १ सय मिटर अग्लो र १८ तले भ्यू टावर चिनियाँ कम्पनी जेडसीजीआईईसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माणको ठेक्का पाएका हुन् । कोरोनाका कारण निर्माण प्रक्रिया ढिला भएको बिडारीको भनाइ छ । म्याद थपेर काम गरिने उनी बताउँछन् ।

अहिले भ्यू टावरको सातौँ तला निर्माण भइरहेको छ । तर, करोडौँ खर्च गरेर निर्माण सुरु भएको भ्यू टावरको निर्माणले स्थानीयवासीको पीडा थपिएको छ । भ्यू टावरबाट निस्कने पश्चिमतर्फको गेटअगाडि ५० परिवार सुकुम्बासी बस्ती छ । अहिले निर्माणको चरणमा रहेको सातौँ तलाबाट सुकुम्बासीको गरिबी प्रस्टै देखिन्छ ।

चार दशकदेखि सोही स्थानमा बसोबास गर्दै आएका उनीहरूले अहिलेसम्म आफूले भोगचलन गरेको जग्गाको धनीपुर्जा पाएका छैनन् । जतिजति भ्यू टावर बन्दै जान्छ उति नै पीडा थपिने उनीहरू सुनाउँछन् । “भ्यू टावर बनिसकेपछि हाम्रो बस्ती हटाउने हल्ला सुनिँदै छ,” पोष्टबहादुर दर्जी भन्छन्, “यति ठूलो भ्यू टावर बन्दा न हामीले रोजगारी पायौँ, न खुसी नै छौँ ।” (कारोबार दैनिकबाट)