जमर्नको चर्चित फुटबल क्लब बार्यन म्युनिख नराम्रोसँग पराजित भएको छ । जर्मन कप फुटबल प्रतियोगिताको दोस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङग्लाडवाचसँग ५–० ले हार्न पुग्यो । बार्यनको यो इतिहासकै विर्सनलायक पराजित हो । सन् १९७८ यताकै उसले फराकिलो हार बेहोरेको छ ।

खेलको पहिलो हाफमा तीन गोल गरेको बोरुसियाले बार्यनलाई निरिह बनाउँदै दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलमा फर्कने प्रयास गरेको बार्यनले गोलको कुनै खाता खोल्न नसक्दा उसले ४३ वर्षपछि फराकिलो हारको सामना गर्नु पर्यो । आजभन्दा ४३ वर्ष अघि बार्यन म्युनिख बुण्डेस लिगामा फोर्तुना डुसेल्डोर्फसँग ७–१ गोलको अन्तरले पराजित भएको थियो । त्यसपछि बुधबार राति भएको खेलमा बोरुसिया मोन्चेङग्लाडवाचसँग ५–० गोलले हार खान बाध्य भयो । बार्यनले ८५ खेलमा लगातार गोल गर्दै आएको क्रममा पूर्णबिराम लाग्न पुगेको छ । बार्यनको लागि यो लज्जास्पद हार हो ।