हेटौंडा– बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादीका) प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने क्रममा आफुुले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । प्रदेशसभा बैठक लगतै मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो ।


कुल एक सय नौ जना सांसद सङ्ख्या रहेको बागमती प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद रहँदा गत भदौ २ गते एकल बहुमतको आधारमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । शाक्य मुख्यमन्त्री भएको हप्तादिन बित्न नपाउँदै सत्तारुढ दल नेकपा एमाले विभाजित हुन पुग्यो । एमालेका तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपश्चात एमालेबाट १३ जना सांसद उक्त पार्टीमा गएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको थियो । बागमती प्रदेशसभामा अहिले एमालेका ४३ जना मात्रै सांसद रहेका छन् ।


त्यसैगरी माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टी र राप्रपाका २/२ जना सांसद रहेका छन् । आफु स्पष्ट अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिनु भएको हो । शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ । नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन् ।