काठमाडौं – नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । कीर्तिमानधारी महिला फुटबलर दीपा र लक्ष्मीले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका हुन् । दुवै खेलाडीले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेका हुन् ।

सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै दीपा र लक्ष्मीले गिनिज वर्ल्ड रेकर्ड बनाएका थिए । जोर्डनमा भएको प्रतियोगिता समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थानमा आयोजना भएको थियो । जहाँ नेपालसहित अफगानिस्तान, स्पेन, फ्रान्स लगायत २० राष्ट्रका महिला खेलाडीहरू सम्मिलित थिए ।

इक्वेल प्लेइङ्ग फिल्डले महिला सशक्तीकरणका लागि विश्वकै अग्लो स्थान र होचो दुवै स्थानमा फुटबल आयोजना गरिएको थियो । अग्लो स्थानको खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलिएको थियो । किलिमन्जारोमा भएको प्रतियोगितामा भने दीपाले स्वास्थ्य समस्याका कारण खेल्न सकेकी थिइनन् । यद्यपि, दीपाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेपछि सबैलाई धन्यवाद दिएकी छिन् ।