मोरङ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोशी अस्पताललाई व्यवस्थित र सर्वसाधारणको पहुँचमा पु¥याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । मोरङको विराटनगरस्थित अस्पतालको आज स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री खतिवडाले अस्पताललाई ५०० शय्याको सेवाका लागि शीघ्र नै स्वीकृति प्रदान गर्ने जनाउनुभएको हो ।

उहाँले हाल २०० शय्या रहेको अस्पतालले सर्वसाधारणको चापलाई मध्यनजर गर्दै ५०० शय्याबाट बिरामीको सेवा गर्ने बताउनुभयो । मन्त्री खतिवडाले संरचनाको अभावमा अस्पतालले सोचेअनुरुप सेवा दिन नसकेको स्वीकार गर्नुभएको छ । अबको केही समयमा संरचना तयार हुने र अस्पताल सुविधासम्पन्न हुनेमा उहाँले जोड दिनुभयो ।

स्थलगत निरीक्षणमा पुग्नुभएका मन्त्री खतिवडासमक्ष विराटनगर– १२ की स्थानीय सेवाग्राही सविता श्रेष्ठले अस्पतालमा उपचारका लागि लामो समय पर्खनुपर्ने, स्वास्थ्य बीमा झन्झटिलो भएको गुनासो गरेकी थिइन् । स्वास्थ्य बीमाको विषयमा पछिल्लो समय मुलुकभरबाट समस्या आएको बताउँदै मन्त्री खतिवडाले सरकारले यसलाई छलफलको एजेण्डा बनाएर अघि बढिरहेको जानकारी दिनुभयो ।

अस्पतालमा जनशक्ति अभावसँगै ल्याबमा कर्मचारी नहुँदा बिरामीले चारदिनसम्म उपचार गर्न नपाएको गुनासो बिरामीका आफन्तले गरेका थिए । उनीहरुले इमरजेन्सीमा झ्याल र भुईमा राखेर समेत उपचार गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका थिए । मन्त्री खतिवडाले देखिएको समस्याको मूल कारण भौतिक संरचनाको अभाव भएको बताउनुभएको छ । ‘अहिले अस्पतालको भौतिक संरचना अभाव हुँदा समस्या देखिएको हो’, उहाँले भन्नुभयो, ‘भवन निर्माण हुँदै छ । निर्माण कार्य सकिएपछि अहिलेका यावत समस्या समाधान हुनेछ ।’

अस्पतालमा विकास समितिको १०० र अस्पतालको २ सय ५० गरी कुल ३ सय ५० शय्यामा सञ्चालन भइरहेको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभइयो । उहाँले अस्पताल परिसरमा निर्माण भएको गाइने ब्लक आउँदो पुस महिनासम्ममा सञ्चालनमा आउने तयारी गरिएको बताउनुभयो ।

त्यसैगरी मल्टीस्पेसियालिटीसहित ५ तल्लाको भवनको निर्माण कार्य सुरु भएको बताउँदै डा. यादवले अबको अढाई वर्षभित्र सो भवन तयार हुने जानकारी दिनुभयो । उक्त भवनमा अत्याधुनिक आईसीयु, एनआईसीयु, न्यूरोलगायतको छुट्टाछुट्टै विभाग हुनेछन् । हाल अस्पतालमा ८० जना चिकित्सकसहित करिब ५०० जना कर्मचारी कार्यरत छन् ।