काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ ।

यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।