अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि स्वीकृत गर्ने तयारी भएको छ । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षका बालबालिकालाई दिन सिफारिस गरेको हो ।

खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए)का विज्ञहरूले मंगलबार उक्त समूहका बालबालिकालाई पनि खोपको स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत जाहेर गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको छ । यसअघि खोप निर्माता कम्पनीले गरेको परीक्षणमा उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो । हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् ।

अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्छ । अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्ष र सो भन्दा माथिको उमेरका बालबालिकालाई दिन सुरु गरिसकेको छ ।