फाइल तस्वीर


स्रोत ग्लोबल टाइम्स
एजेन्सी – दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधि र खाद्यान्नको लागि प्रयोग गरिने बताएको टोलो समाचार संस्थाले उल्लेख गरेको छ ।

तालिबानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो । दुवै पक्षले अफगानिस्तानको राजनैतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताएको खामा प्रेस न्यूज एजेन्सीले लेखेको छ ।

वाङ यीसँग सोमबार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्व दिएको बताएको थियो । वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गरेको चिनियाँ सञ्चारसंस्था ग्लोबल टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।