काठमाडौं —आज सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अङ्कले वृद्धिभएर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप आज ७८.८२ अङ्कले बढेर २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
आज सबैजसो उप–सूचकहरु बढेर बजार नै हरियाली बनेको छ भने, यस दिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन् । यस दिन यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, फाइनान्स समूहको ५.६१, लगानी समूहको ४.५, हाइड्रोपावर समूहको ४.३३ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूहको क्रमशः ३.७७ र ३.३४ प्रतिशतले वृद्धि भएको छ ।
अधिकतम ७८.८२ अङ्कले बढेको बजारमा आज कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको छ । गत सोमबार ८७ अङ्कले बढेको बजारमा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको थियो ।