सुडानमा सैन्य कूको विरोधमा प्रदर्शनमा उत्रेका नागरिकमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । गोली लागेर सात जनाको मृत्यु हुनुका साथै कम्तीमा १ सय ४० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुडानमा सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको थियो ।

प्रधानमन्त्रीसहितका नेताहरूलाई पक्राउ गरी सेनाले सङ्कटकाल घोषणा गरेको छ । राजधानी खार्तुममा सैनिकहरू सर्वसाधारणका घरघरमा गएर विरोध प्रदर्शन आयोजना गर्नेहरूलाई पक्राउ गरिरहेको समाचारमा जनाइएको छ । सोमबार राति पनि ठूलो संख्यामा प्रदर्शनकारीहरू राजधानी खार्तुम र अन्य सहरहरूमा नागरिक शासन फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेका थिए । एक घाइते प्रदर्शनकारीले सेनाको मुख्यालय बाहिर आफूलाई खुट्टामा गोली हानिएको पत्रकारहरूसँग बताएका छन् । उनले आफ्नो आँखै अगाडि दुई जनाको सेनाको गोली लागेर मृत्यु भएको बताए ।

देशमा राजनीतिक अस्थिरताका कारण आफूहरूले सत्ता कब्जा गर्नु परेको सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् । दुई वर्षपहिले लामो समयदेखिका शासक ओमर अल–बाशिरलाई सत्ताच्युत गरिए यता सुडानमा सेना र सरकारबीच टकराव रहँदै आएको थियो । सैन्य कुको विश्वभरबाट निन्दा गरिएको छ । अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर रोकेको छ ।