काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले जानकारी दिनुभयो ।

सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायिक कारोबार र लक्ष्य प्राप्तिका लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।

कार्यक्रमको दोस्रो दिन कात्तिक ६ गते कम्पनीका सम्पूर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको राष्ट्रिय सम्मेलन सम्पन्न भएको भट्टराइले जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समीक्षा गर्नुभयो । अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गर्नुभयो ।

सम्मेलनको अन्त्यमा आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गर्नुभयो । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायिक लक्ष्य निर्धारण गरेको छ । बीमा जनचेतना अभिवृद्धिको लागि यो आ.व. भित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा ‘युवा सँग – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको प्रभुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिनुभयो ।