काठमाडौं – काठमाडौंमा भोली कार्तिक ९ गतेदेखि ८ वटा स्थानीय तहमा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंद्वारा जारी गरिएको सूचना अनुसार भोली काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथिका उमेर समूहका पहिलो मात्रा एस्ट्राजेनेका खोप पाएकाहरुलाई दोस्रो मात्रा लगाउन लागिएको हो । काठमाडौं महानगरपालिकालगायत कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर गरी ८ वटा नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज लगाउने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा भने नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी लगायत वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । यी पाँचवटा अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा तीन दिनसम्म खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका नागरिकहरुले दोस्रो खोप लगाउन आउँदा पहिलो मात्रा खोप लगाएको प्रमाण कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । यस अघि स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्षमाथिका उमेर समूहलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएको थियो ।