काठमाडौं – तालिवान लडाकुले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि त्यहाँ बेलाबेलामा हिंसाका घटना घटिरहेका छन् । यसैक्रममा त्यहाँको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त भएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको उक्त भिडन्तमा परी बाह्रजनाभन्दा बढी मानिस मारिएको स्थानीय अस्पताललाई उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ । स्पुटनिक समाचार संस्थाले स्रोतलाई उदृत गर्दै जनाए अनुसार ‘सात जना पुरुष, तीन जना महिला र सात जना बालबालिका गरी १७ जनाको शब हेरात प्रान्तको एक अस्पतालमा लगिएको छ, ती सबै मानिसको गोली लागेर मृत्यु भएको हो ।’

अफगानी अधिकारीका अनुसार तालिवानले हेरात प्रान्तमा आइतबार विशेष कारबाही गरेको थियो । अपहरणमा संलग्न स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तिमा तीन जना अपराधीहरु मारिएको समाचारमा जनाइएको छ ।