प्रतीकात्मक तस्वीर
काठमाडौं — रौतहटस्थित सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५, लक्ष्मीपुरका २२ वर्षीय शेख सेराज मियाँ, सोही ठाउँका १८ वर्षीय कलाम मंसुरी, २२ वर्षीय मोजाहिर मंसुरी रहेको चोंचा सेक्टर वनका अधिकृत राजेश साहले बताउनुभयो । उनीहरुले वन क्षेत्रभित्रै एकथरी संरक्षित चराको गुँड बाट १४ वटा बच्चा निकालेर मारेका छन् ।

उनीहरुको साथबाट गरुडजस्तै देखिने पानीमा बस्ने माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर मारिएको अवस्थामा बरामद भएको अधिकृत साहले जानकारी दिनुभयो । रङ्गपुर साझेदारी वन र चन्द्रपुर वन डिभिजन कार्यालयका वन कर्मचारीले गस्तीको क्रममा हिजो साँझ उनीहरुलाई फेला पारी खानतलासी गर्दा मृत चराका साथै एक थान चक्कु, १५ मिटर डोरी र ३ थान साईकल बरामद भएको जनाइएको छ ।

बरामद चरा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, वन कर्मचारी, चन्द्रपुर पशु सेवा शाखाका प्रतिनिधि, जनप्रतिनिधि र पत्रकारहरुको रोहवरमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको हाताभित्रै खाल्डो खनेर गाडिएको छ । पक्राउ परेका तीन जनामाथि वन्यजन्तु अपराध सम्बन्धी मुद्दा चलाउने डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जनाउनुभयो ।