विराटनगर – प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज मध्हान्न १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाउनुभएको छ ।

एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना कम छ । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश एकमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने सम्पर्कबिहिन हुनुहुन्छ । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उहाँ आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ । सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि सम्पर्कबिहिन रहनुभएको उहाँ प्रहरीको खोजी सूचीमा हुनुहुन्छ ।

प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् रहेका छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन । विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ । विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।

आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ । नेकपा एमाले प्रदेश एकका प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिने बताउनुभएको छ । बहुमत प्राप्त नगरे पनि मुख्यमन्त्रीले विश्वासको मत लिने उहाँको भनाइ छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराउनुभएको थियो । शुक्रबार बसेको बैठकमा उहाँले सो प्रस्ताव टेबल गर्नुभएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेपछि सभामुखले छलफल र मत विभाजनका लागि आजसम्म बैठक स्थगित गर्नुभएको थियो । ९३ प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा रहेको कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांसद रहेका छन् ।