बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए)ले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यसबारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरूको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक सङ्केत पनि अनुसन्धानकर्ताहरूले सुनाएका छन् ।

अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरूको निष्कर्ष छ । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । ती मध्ये डेल्टा भेरियन्टबाट सङ्क्रमितहरू नै धेरै रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उनीहरूले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले दिएको विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरियन्टहरू अहिले फैलिरहेका छन् ।

भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरूको भनाइ छ । अमेरिकामा पनि डेल्टा प्लस भेरियन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । त्यसैगरी डेनमार्कमा पनि यो भेरियन्ट देखिएको छ, तर सङ्क्रमितहरुको सङ्ख्या भने काम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरूले जोड दिएका छन् । कोरोनाभाइरसले आफ्नो रुप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरूले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् ।

साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दूरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरूले आह्वान गर्ने गरेका छन् । कोरोनाभाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरूले काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरूले सतर्क गराएका छन् ।