काठमाडौं – नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ राष्ट्रिय टिमसँग २–० ले पराजित भएको छ । एएफसी यू–२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका ६ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली तयार पारेका छन् । त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका अरु पाँच खेलाडी पनि टिममा छन् । टिममा राष्ट्रिय टिमको अनुभव भइसकेका करिब आधा खेलाडी रहेकोले पनि यस पटक छनोटमा नेपालले राम्रो गर्ने आशा प्रशिक्षकले राखेका छन् ।

छनोटमा कुल ११ समूह छ । त्यसमा हरेक समूहको शीर्ष टोली एएफसी यू–२३ एसियन कपमा छनोट हुनेछन् । यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । आयोजक उज्वेकिस्तान भने यसअघि नै छनोट भइसकेको छ ।