प्रतीकात्मक तस्वीर
वीरगञ्ज– मानवीय सहायता स्वरुप युएनडिपीले पठाएको रकम ठगी गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दलित जनजाती उत्थान केन्द्र कलैया बाराका प्रोग्राम कोअर्डिनेटर रौतहटको बौधीमाई नगरपालिका–१ बस्ने २४ वर्षीय विकेश जयसवाललाई प्रहरील पक्राउ गरेको हो ।

जयसवालले युएनडीपीले कोभिड १९ महामारीको बेला अफ्ट्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानवीय सहायता स्वरुप बैंकमा पठाएको रकमबाट ३ हजारदेखि ३३ सय रुपैयाँका दरले पैसा सेवाग्राहीबाट उठाइ ठगी गरेको प्रहरीले जनाएको छ । ठगी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बैंकको गेट अगाडि प्यासेजबाट जयसवाललाई फेला पारी पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।

उनको साथबाट प्रहरीले ठगी गरेको ६० हजार ७ सय नगदसमेत बरामद गरेको चिमरियाले बताउनुभयो । पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।