विश्वका गरिब देशहरुको खोपमा पहुँच नभएका कारण कोरोना भाइरसको महामारी सन् २०२२ मा पनि कायम रहने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । गरिब देशहरुले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको छ ।

डब्लुएचओका सिनियर लिडर डा. ब्रूस यलवार्डले भनेका छन्, ‘गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु भनेको कोरोना भाइरसको महामारी सन् २०२२ सम्म सहज रुपमा लम्बिनु हो ।’ अहिलेसम्म सबैभन्दा कम अफ्रिकामा खोप पुगेको छ । अफ्रिकाका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका छन् ।

डा. यलवार्डले धनी देशहरुलाई खोप उत्पादक कम्पनीहरुमा गरेको आफ्नो खोपको अडरलाई त्याग गर्न आग्रह गरेका छन् । धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकहरुले कम आए भएका देशहरुलाई प्राथमिकता दिन नसकेको उनको भनाई छ । यस्तै धनी देशहरुले वाचा गरे अनुसारको खोपको आपूर्ति गर्न पनि उनले आग्रह गरेका छन् ।

द पिपुल्स भ्याक्सिनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार खोप उत्पादक तथा धनी देशहरुले वाचा गरेको मध्ये सातमा एक खोप मात्रै अहिलेसम्म गरिब देशहरुमा पुगेको छ । अहिलेसम्म खोपको पहुँचमा सबैभन्दा पछि रहेको अफ्रिकामा विश्वभर लगाइएको खोपको मात्रै २.६ प्रतिशत अंश छ । बीबीसी