काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गत असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ । मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।

गत भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको शाक्यले नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो । सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरे पनि दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई विश्वासको मत लिन बाध्य बनाएको हो ।
प्रदेशसभामा अहिले एमालेका ४३ सांसद छन् । शाक्यलाई सरकार टिकाउन ५५ मत आवश्यक पर्छ । तर त्यो सम्भावना कम छ । विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग २३, नेपाली काङ्ग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३ र जनता समाजवादीसँग १ गरी ५९ सांसद छन्। उनीहरुले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार बनाउने घोषणा गरिसकेका छन् । तीन मत रहेको विवेकशील साझा पार्टीले पनि यसअघि नै शाक्यलाई विश्वासको मत नदिने घोषणा गरेको थियो ।