ग्रीसको अथेन्सबाट ल्याइएको ओलम्पिक टर्च बुधबार बेइजिङमा प्रज्ज्वलन गरिएको छ । चीनको राजधानी बेइजिङले सन् २०२२ को हिउँदे ओलम्पिक खेल आयोजना गर्दैछ । आगामी फेब्रुअरीमा हुने यस प्रतियोगिता आयोजना गर्ने बेइजिङ शहरले हिउँदे र गृष्मकालीन दुबै ओलम्पिक आयोजनाका रेकर्ड राख्दैछ । यसअघि कुनै पनि शहरले यस्तो अनुपम अवसर पाएका थिएनन् ।

हिउँदे ओलम्पिक खेल आगामी फेब्रुअरी ४ देखि २० सम्म हुँदैछ । कोभिड महामारीलाई ध्यानमा राखेर यस प्रतियोगितामा विदेशी दर्शकलाई भने प्रवेश दिइने छैन । नेसनल स्टेडियम नजिक आयोजित टर्च स्वागत समारोहमा बेइजिङ कम्युनिष्ट पार्टीका प्रमुख काई क्वीले चीनमा ओलम्पिक टर्च आइपुगेको संकेत स्वरुप टर्च बाल्नु भएको थियो । यही नेसनल स्टेडियम सन् २००८ को गृष्मकालीन ओलम्पिकको समयमा चराको गुँड आकारमा बनाइएको थियो ।

अथेन्सबाट गत अक्टोबर १९ मा ओलम्पिक टर्च चीनका लागि प्रस्थान गरेको थियो । टर्चलाई एउटा रातो लाल्टिन आकारमा डिजाइन गरेर राखिएको थियो । रातो लाल्टिनले चीनको हान वंशको प्रतिनिधित्व गरेको ठानिन्छ । सेतो पहिरन लगाएका व्यक्तिले टर्च बोकेका थिए । चीनले बुधबारदेखि नै बेइजिङको ओलम्पिक पार्कमा ओलम्पिकको ज्योतिलाई प्रदर्शनमा राख्नेछ । आगामी फेब्रुअरीको शुरुमा टर्च बोक्ने १ हजार २०० व्यक्तिले यसलाई बेइजिङ र झाङजियाकाउ शहर तथा यानक्विङ जिल्लामा प्रदर्शन गर्नेछन् । यी तीन शहरमा हिउँदे ओलम्पिक खेल हुँदैछ ।

बेइजिङका उपमेयर झाङ जियानदोङले कोभिड–१९ फैलिने सम्भावनालाई ध्यानमा राखेर टर्चको रिले मार्गहरुलाई घटाइएको जानकारी दिनुभएको रोयटर्स समाचार संस्थाले जनाएको छ । यस प्रतियोगितामा ४६ वटा स्पर्धा हुनेछन् भने महिला खेलाडीको संख्या ४५.२ प्रतिशत हुने चिनियाँ ओलम्पिक कमिटीले जनाएको छ । गत अक्टोबर १८ मा अथेन्सबाट आयोजित समारोहमा चीन विरोधी प्रदर्शन भएकोप्रति ग्रीसको ओलम्पिक कमिटीले अथेन्स समारोहलाई राजनीतिक उद्देश्यका लागि प्रयोग भएकामा दुःख व्यक्त गरेको छ ।

नेपालको सहभागिता के हुँदैछ ?

नेपालले सामान्यतया हिउँदे ओलम्पिकमा भाग लिने गरेको छैन । नेपालमा हिउँमा खेलिने खेलका लागि आवश्यक पूर्वाधार, सीप र तालिमको अभाव छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालका केही खेलाडीले अल्पाइन जिएस र एसएल इभेन्टमा तयारी गरिरहेको जानकारी दिनुभयो । तर युरोपका विभिन्न मुलुकमा हुने खेलहरुमा छनौट भई नम्बर जोड्न सके मात्र नेपालको सहभागिता रहने पनि उहाँले बताउनुभयो । श्री श्रेष्ठले युरोपेली प्रतियोगिताको नतिजाले मात्र नेपालको सहभागिता हुने वा नहुने जानकारी दिनुभयो ।

नेपालले यसअघि चार पटक हिउँदे ओलम्पिक खेलमा सहभागिता जनाएको रेकर्ड छ । सन् १९२४ को हिउँदे ओलम्पिकका अवसरमा सन् १९२२ को ब्रिटिस सगरमाथाको आरोहण दलबाट सगरमाथा आरोहण गरेबापत तेजबिर बुढालाई ओलम्पिक स्वर्ण पदक दिइएको थियो । नेपालले सन् २००२, २००६, २०१० र २०१४ का हिउँदे ओलम्पिकमा सहभागिता जनाएको देखिन्छ ।

सन् २००२ मा जय खड्काले क्रस कन्ट्री स्की मा सहभागिता जनाएका थिए । सन् २००६, २०१० र २०१४ मा गरी तीन पटक नेपालको प्रतिनिधित्व गर्दै दाछिरी शेर्पाले १५ किलोमिटरको क्रस कन्ट्री स्की मा भाग लिएका थिए । तर आगामी हिउँदे ओलम्पिकमा नेपालबाट क कसको सहभागिता रहन्छ भन्ने अझै टुङ्गो लागेको छैन ।