काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।

आज काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उहाँले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिनुभएको हो । उहाँले आफूले पार्टीभित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटक–पटक दोहो¥याउनुभयो ।

उहाँले भन्नुभयो, “अब ६ गतेदेखि वडा तहमा एकैचोटी अधिवेशन, पालिकाहरुको अधिवेशन भन्ने कुराहरु निर्देशनमा आईसकेको छ । सम्पूर्ण कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ । त्यतिमात्र होइन् वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्दीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । किन भन्दाखेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो । वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो । हाम्रो पाईला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दाखेरी बलियो हुन्छ ? भन्ने कुराहरु सोच्ने बेला आएको छ ।
त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होईन र हतार हतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा म चाँही छैन । किन भन्दाखेरी यो हाम्रो टेक्ने धरातल भएको हुनाले यहाँ भित्र समूहगत स्वार्थ छिर्न दिनु हुँदैन । मैले समूहगत स्वार्थ भनिराखेको छु । पार्टी भित्र यो पनि हावी भएको छ । समूहगत स्वार्थ छिर्न दिनु हुँदैन । व्यक्तिगत स्वार्थ छिराउनु हुँदैन । आफ्नो पारिवारिक स्वार्थदेखि अनेकौं स्वार्थहरु हावी भइराखेको छ । यसो हुने हो भने पार्टीको वडा तह बलियो हुन सक्दैन । सुदृढ हुन सक्दैन ।”