प्रतीकात्मक तस्वीर
काठमाडौं — अविरल वर्षासँगै बाढी–पहिरोमा परी इलाममा तीनजनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी तीनजनाले ज्यान गुमाएका हुन् । हिजो मध्य राति गएको पहिरोका कारण जिल र मेहेलबोटेमा तीनजनाको मृत्यु भएको जनाइएको छ । नेपाली काङ्ग्रेस सूर्योदय नगरपालिका–३ का सचिव धड्कन शर्माको जनकारीअनुसार रातिको पहिरोमा परी बेपत्ता भएका तीनजनाको आज शव निकालिएको छ ।

मेहेलबोटे निवासी ४५ वर्षीय निरा दर्जीको शव बिहान १० बजेतिर भेटिएको शर्माले बताउनुभयो । यस्तै, आज बिहान करिब ११ बजे सूर्योदय–३, जिलका ४९ वर्षीय विष्णुमाया तामाङ र उनका छोरा १८ वर्षीय विशाल तामाङको पनि शव फेलापरेको छ । “राति १२ बजेदेखि २ बजेसम्म गएको पहिरोमा उनीहरू बेपत्ता भएका थिए, अहिले दुई घण्टाभित्र उनीहरूको शव फेलाप¥यो,” शर्माले बताउनुभयो, “राति नै थाहा पाएर बस्तीका अन्य घर–परिवारहरू सारिएको थियो ।”

नयाँबजार–फिक्कल जोड्ने मयुखोलास्थित पक्की पुल बगाएको उहाँले जानकारी दिनुभयो । “हाम्रै नगर र जिल्लामा पनि धेरै क्षति भएको छ, तर विद्युत् गएका कारण सञ्चार सेवा अवरुद्ध भएकाले कहाँ कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलन हुनसकेको छैन,” उहाँले भन्नुभयो ।